काठमाडौं, भदाै २६: नेकपा एमाले र नेकपा माओवादी दुई पार्टि एकीकरणपछि बनेकाे नेकपा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। मंसिर १४ गते तोकिएको उपनिर्वाचन प्रयोजनका लागि नेकपाले बिहीबार आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो।
नेकपा सचिवालय बैठकले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो। एकीकरणपछि गठित दलले उपनिर्वाचनमा पुन : दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार निर्वाचन आयोगले एक महिने सूचना प्रकाशित गरेको थियो।
दल दर्ताका लागि नेकपा निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, सचिव बाबुराम दाहाल, कार्यालय सचिवहरू श्रीराम ढकाल र ईश्वरी रिजाल कागजात सहित आयोग पुगेका थिए।
२०७४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।
प्रमुख निर्वाचन आयुक्तसहित अन्य आयुक्तसँग पनि भेट्यौँ, दल दर्ताका लागि निवेदन दिएपछि देवकोटाले भने, निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन कानुनमा सुधार गर्नुपर्ने लगायत रणनीतिक काममा आयोग लागेको जानकारी गराए, दलहरूबाट सुझाव अपेक्षा पनि राखेका थिए।