वन अधिकृतसहित तीन जना अख्तियारकाे फन्दामा

| 2019 Sep 11 | 06:51 am 1785

काठमाडौं, भदाैं २५: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लानाकेदारेश्वर सबडिभिजन वन कार्यालयका वन अधिकृत (उपसचिव) सुरेशचन्द्र डीसीसहित दुई जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । घूस दिने बिचौलिया सुशन जोशीविरुद्ध समेत मुद्दा चलाइएको अख्तियारले जानकारी दिए ।

डीसीले सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिसलगायत कागजी प्रक्रिया गरिदिएबापत ३ लाख २६ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा चलाइएको हो । बिचौलिया जोशीले सेवाग्राहीबाट ५ लाख ४५ हजार रुपैयाँ घूस लिई डीसीलाई ३ लाख २६ हजार मात्र दिएका थिए । जोशीलाई ५ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

निवेदक चुरामणि अर्यालले बिचौलियामार्फत वन अधिकृतलाई ५ लाख ४५ हजार रुपैयाँ घूस दिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भए पनि अनुसन्धान कार्यमा सत्यतथ्य खुलाई सहयोग गरेकाले उनलाई सजायको मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकोसमेत अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले पोखरा महानगरपालिका–१० की नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारी विष्णुकुमारी पराजुलीविरुद्ध समेत मंगलबार नै भ्रष्टाचार मुद्दा चलाएको छ । कान्तिपुर दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.