काठमाडौं, भदौ २४: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने पृतनापति समन्वयात्मक बैठक सोमबार समापन भएको छ ।
समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत गरिएको थियो ।
उक्त बैठकमा पिएस ओज रथीबृन्द, पृतनापतिहरु तथा अन्य रथीबृन्दहरु समेत सहभागीता रहेको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका थिए ।
समापनको क्रममा प्रधानसेनापति थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढिकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्न संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गरी अपनत्व ग्रहण गर्न तथा आफ्नो दायित्व प्रति उत्तरदायी हुनुपर्ने बताए ।
साथै नागरिक सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन गरिएका नीतिगत निर्णय र स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरी कार्य योजना अनुसार जनहितको कार्यहरु सञ्चालन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन निर्देशन दिएका थिए ।
नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।