दाजुभाइबीचको झगडाले आमाको गयाे ज्यान

रिपोर्ट नेपाल | 2019 Sep 08 | 12:21 pm 1567

महोत्तरी,  भदाै २२: बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाकाे कारणले आमाको ज्यान गएको छ। दाजुभाइबीच आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल लाँदै गरेकी आमाको आफू चढेको एम्बुलेन्स शनिबार साँझ दुर्घटना हुँदा मृत्यु भएको हो।

कुटपिट गरी घइते दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादीलाई लिएर अस्पताल गएकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आफू चढेको एम्बुलेन्स पल्टिँदा  ज्यान गएकाे हो।

बा २ च ४४४१ नम्बरकाे एम्बुलेन्स  विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिदा पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन्।

घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याउनासाथै तारा वादीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

घाइतेमध्ये पैदलयात्री रसाइलीको दाँया खुट्टा भाँच्चिएको, चालक बुढाथोकीको अनुहारमा चोट लागेको र दुवै दाजुभाइ वादीका हातगोडामा सामान्य चोट लागेको छ।

घाइते सबैको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिए। चालकको प्रहरी निगरानीमा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.