सुर्खेत, भदौ १७: मंगलबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्चिम एयर वेश सञ्चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।
नेपाली सेनाले पश्चिम र पूर्वमा एयर वेश स्थापना गरी काठमाण्डौबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीतिअनुसार नेपाली सेनाले आजबाट सुर्खेत स्थित पश्चिम एयर वेशको शुभारम्भ गरेको हो ।

सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेतस्थित पश्चिम एयर वेशमा ह्याङ्गगर निर्माण कार्यको थालनी भईसकेको छ । हाल एम आई–१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गरी हवाई सेवाको पहुँच वृद्वि गर्ने कार्यको सुरुवात गरिएको छ ।
आगामी १० वर्षभित्र हवाई साधन थप गरि दोस्रो लाइन मर्मत सहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको छ । नेपाली सेनाको हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरी सेवा प्रदान गर्ने कार्यक्रम अन्तरगत रहेको छ ।
पश्चिम एयर वेशले पश्चिम तथा सुदुर पश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा संभाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्च पदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।