रामेछाप, भदौं १६ : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्काले दुई करोड चन्दा माग्दै ज्यान मार्ने धम्की दिएको भन्दै आफ्ना उपाध्यक्ष र वडाध्यक्षसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
अध्यक्ष खड्को जाहेरी अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालतमा मुद्दा दायर समेत गरेको छ । अध्यक्ष खड्काले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम उपाध्यक्ष दिपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता संजीव कार्की, लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङविरुद्ध किटानी जाहेरी दिएका छन् । उनले जाहेरीमा उनीहरुलाई सात वर्ष कैद र ७० हजार जरिवाना मागदाबी समेत गरेका छन् ।
खड्काले प्रतिवादी बनाएकामध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ गते प्रहरीले काठमाडौंको वौद्धबाट नियन्त्रणमा लिएको थियो । सादा पोसाकका प्रहरीले नियन्त्रण लिन खोज्दा भाग्न लागेपछि प्रहरीले चलाएको गोली तामाङको घुँडामा लागेको थियो । उनीको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ ।
जबरजस्ती चन्दा माग्ने प्रतिवादी बनाइएकी उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले बाबुराम तामाङलाई प्रयोग गरी आफूबाट २ करोड माग गर्न लगाएको र नदिए आफू र परिवारका सदस्यलाई मार्ने सम्मको धक्की दिएको आरोप खड्काको आरोप छ ।
किटानी जाहेरीमा नाम नपरेका नेकपाका नेता कार्की समेत प्रहरीको अनुसन्धानबाट दोषी देखिएकाले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको खड्काले जानकारी गराएका छन् ।
तर उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले उक्त आरोप पुष्टि गर्न चुनौति दिंदै खड्कालाई पैसा मागेर धम्क्याउने कार्यमा आफ्नो कुनै संलग्नता नभएको दावी गर्दै आएका छन् ।
लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा विद्युतीकरण गर्दा लागेको खर्च भन्दै अध्यक्ष गोविन्दबहादुर खड्काले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दा ६ करोड ९५ लाख रुपैया माग गरेपछि अनुगमन समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष दाहाल र वडा अध्यक्षहरुले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।
बत्ति बलिसकेकाले योजना अनुगमन गरी लागेको पैसा विनियोजन गर्ने उनीहरुको अडान अध्यक्षलाई स्वीकार्य नभएपछि कार्यपालिकाको बैठकमा झगडा भएको थियो । विवादका कारण असारमै पारित गर्नुपर्ने गाउँपालिकाको बजेट अझैसम्म हुन सकेको छैन । अध्यक्ष र उपाध्यक्षको झगडा भएपछि एक महिनायता गाउँपालिकाको सबै काम ठप्प छ ।