काठमाडौं, भदाै १५: महिलाहरूकाे महान चाड हरितालिका तीजको अवसरमा पशुपति दर्शनमा आउने व्रतालुको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएकाे छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार नेपाल प्रहरीसँगको समन्वयमा तीजकाे दिन सुरक्षालाई ध्यान दिँदै पशुपति क्षेत्रमा सादा पोशाकका प्रहरी खटाइसकिएको जानकारी दिए। तीजकाे मेला अवधिभर पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी खटिने छन्।
साथै कोषले भक्तजनकाे शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा महंगा गरगहना नलगाई आउन आग्रह समेत गरिएको छ।
त्यस्तै पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ। सरकारी नम्बर प्लेटका सवारीसाधनलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको कोषले जनाएको छ।
पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए।
बैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने कोषको विश्वास छ। भदौ १६ गते पशुपतिमा आउनेका लागि चावहिलबाट सवारीसाधन रोकिने छन् भने कालोपुलबाट गाडीलाई प्रवेश निषेध गरिने छ।
यसरी गरिएकाे छ ट्राफिक रूटकाे व्यवस्थापन
