यसरी भयो विराटनगरमाथि दोस्रो हमला

| 2019 Aug 31 | 08:17 am 1927

वीरगंजमा विजयी मुक्तिसेनाको ठूलो समुह डिसेम्बर १० का दिन विराटनगर पुग्यो । अनि दोस्रो पटक पुनः लडाइँ भयो । कांग्रेसले फेरि आक्रमण गर्छ भन्ने सूचना पाएर जुटमिल्स सुरक्षार्थ खटिएको राष्ट्रिय सेनासमेत बडाहाकिम उत्तम बिक्रम निवासमै केन्द्रित थियो ।

बडाहाकिमको दुईतले निवास वरिपरी १० फिट अग्लो पर्खाल मात्र थिए, चौतर्फी बालुवाका बोरा राखेर सेन्ट्री बस्ने पोष्टसमेत बनाइएको थियो । अनि निवासभित्र सेनाका लागि दुईतीन महिना पुग्ने रसदपानी प्रबन्ध थियो । जुटमिल्सलगायत सारा विराटनगर पुनः कब्जामा लिएपछि मुक्तिसेनाले चारैतिरबाट घेराबन्दी गरी बडाहाकिम निवासलाई आक्रमणको निसाना बनायो ।

बीपीले भनेका छन्, माथि छतमा ब्रेनगन राखिएको थियो । ब्रेन गनको मोहडा कहिले कता कहिले कता फर्कएर भ्रम पारिएको थियो । त्यहाँ भएका तीवटा ब्रेनगनको गोलीगठ्ठा सिद्धिने डरले बडो होसियारी र समझका साथ प्रयो गर्थे । पूरा बजार हाम्रो कब्जामा छ, पूरा जिल्ला हाम्रो कब्जामा छ । तर त्यसलाई कब्जा गर्न सकेको छैन ।

लडाइँ जारी रहँदा मुक्तिसेनाको गोलीगठ्ठा सिद्धिँदै गयो । तत्काल कतैबाट ल्याइहाल्ने उपाय थिएन । बीपी र सुवर्ण चिन्तित थिए । सैन्य कमाण्डर जिबी याक्थुम्बा वायरलेसमा तारन्तार भनिरहेका थिए, अब राति उनीहरुले आक्रमण गरे, हाम्रो क्षेत्रमा पसे भने त हामीहरु टिक्न सक्दैनौं, हामीसँग गोलीगठ्ठा छैन ।

कांग्रेसले पूर्णियातिर आठ आना एक रुपैयाँका दरले पाइने गोली पनि खोजी गर्यो । तर चाहिएजति पाइएन । अनि सुवर्णले विराटनगर जुटमिल्सका एक मेकानिक्सको सहयोग लिएर रकेट बनाउन लगाए । त्यसमा बारुद भरियो । परीक्षण पनि भयो । रकेट निकै टाढा गाउँसम्म गएर पड्कियो । तर कुन रेन्जमा हान्दा कहाँ पड्किन्छ भन्ने अन्दाज गर्न सकिएन । हचुवाको भरमा प्रहार गर्दा सर्वसाधारण मारिने खतरा थियो । त्यसैले रकेट प्रहार गरी बडाहाकिमको निवास ध्वस्त बनाउने योजना कार्यान्वयन गरिएन ।

विराटनगरमा विजयी झण्डा फहराउने बीपी, सुवर्ण स्वयम् युद्ध मोर्चामा खटिएका थिए । हतियारको बलमा बडाहाकिम खुम्चिएको सरकारी किल्ला कब्जा गर्न सकिएको थिएन । त्यसैले चारैतिरबाट बडाहाकिम निवासलाई घेरा हाली नाराबाजी गर्ने र आत्मसमर्पण गराउने योजना बन्यो । तारिणी माइकिङ गर्न थाले, अब तपाइँहरु लडाइँ नगर्नुस्, आत्मसमर्पण गर्नुस् । बडाहाकिम निवास मुक्तिसेनाको घेराउमा थियो ।

दुबैतर्फबाट गोलीको पर्रा छुट्न थाल्यो । बीपी, सुवर्ण र तारिणी नेपाल बैंकको छतबाट युद्ध नियाल्दै थिए । राणा सैनिक नेताहरु भएको घर ताकेर एक सुरले गोली बर्साउन थाले । अनि ज्यान जोगाउन तीनै शीर्ष नेता छतमै पल्टिए । बीपीले भनेका छन्, ब्रेनगनको गोलीबाट त्यो मुडेराका प्लास्टर खसिरहेका छन् । त्यसको धुलो खसिरहेको छ, हाम्र्रो टाउकोमाथि ।

उता जमिनबाट जिबी याक्थुम्बाको नेतृत्वमा गिरिजाहरु बडाहाकिम निवासतर्फ गाmेी चलाइरहेका थिए । गिरिजाले घटनाबारे लेखकसँग भनेका छन्, मैले आफैं पनि बन्दुक चलाएँ । कानै नजिकबाट गोली आउन थालेपछि चौरमा थुपारिएको मुडामा आड लिएर बालबाल बचें ।

मुक्तिसेनाका जवानहरु पनि मुडाको आड लगाएर गोली छल्दै, जवाफी फायर गरिरहेका थिए । ब्रिटिस र भारतको आजाद हिन्द फौजमा काम गरेका अनुभवी योद्धाहरु भुइँमा पल्टिएर गोली चलाइरहेका थिए । माइकिङको भरमा सरकारी सेनामाथि जाइलाग्नु आफूहरुको अज्ञानता भएको स्वयम् बीपीले स्विकारेका छन् । बीपीकाे विद्राेह जगत नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.