जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जिल्ला प्रहरी कार्यालय आसपासमा पाँच जनाभन्दा बढी जम्मा भएर बस्न निषेध

रिपोर्ट नेपाल | 2019 Aug 26 | 09:06 am 3507

चितवन, भदौ ९: जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै साेमबार बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ । जसका कारण पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारी गरेको हो ।

आदेशमा जनाइए अनुसार “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकाय रहेको क्षेत्रमा हुल दङ्गा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ ९क० बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।” जसअनुसार वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने उदल्लेख छ ।

यसैगरी, वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.