मेलम्ची खानेपानी आयोजनाको दोस्रो परियोजना लार्के–यांग्री पुग्ने पहुँचमार्ग निर्माणमा ढिलाइ

रिपोर्ट नेपाल | 2019 Aug 20 | 08:05 am 2158

काठमाडौं, भदाै ३: मेलम्ची खानेपानी आयोजनाको दोस्रो परियोजना लार्के–यांग्री आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काममा ढिलाइ भएको छ। मुआब्जाको टुंगो नलाग्दा सडक निर्माणमा ढिलाइ भएको हो।

मुआब्जाको टुंगो नलाग्नु, सडकको ट्र्याक खोल्न क्षेत्र खाली नहुनुको कारणले गर्दा सडक निर्माणमा समस्या आई ढिलाइ भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले बताए। सडकको ट्रयाक खोल्नका लागि मुआब्जाको विषयमा टुंगो लागेको छैन। साइडसमेत क्लियर नभएकै कारण सडकको नयाँ ट्र्याक खोल्न सकिरहेको छैन ।

मेलम्चीको दोस्रो आयोजना लार्के र यांग्रीको निर्माण क्षेत्रसम्म पुग्न २५ किलोमिटर पहुँच मार्गको ट्र्याक निर्माण गर्नुपर्दछ। यसमा १० किमि मेलम्चीले र १० किमि सडक विभागले निर्माण गर्ने गरी जिम्मेवारी बाँडफाँड भएको छ। यस मार्गमा साढे चार किमि पहिला नै ट्र्याक खोलिसकेको आयोजनाले जनाएको छ।

हालसम्म मेलम्ची पुलबजारदेखि धापसम्म साढे चार किमि सडक ट्र्याक खोलेको र धापदेखि ठूलो बोताङसम्म १० किमि सडकको ट्र्याक खोल्नै बाँकी रहेको आयोजनाले जनाएको छ।

मेलम्चीले उक्त सडक निर्माणका लागि गएको नोभेम्बरमा ठेक्का लगाइसकेको छ। मेलम्चीले कार्यक्षेत्र खुला भएको समयदेखि निर्माण थालेको १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा ठेक्का लगाए पनि अहिलेसम्म केही विकास हुन सकेको छैन।

मेलम्चीले सडक निर्माणका लागि श्रेष्ठ रमणलाई ६९ करोड रुपियाँमा ठेक्का लगाएको थियो। आयोजनाले मुआब्जामा केही कमी नआओस् भनेर १५ करोड रुपियाँ पठाइसकेको जनाएको छ।

मुआब्जा निर्धारण भएको हदसम्म हामीले १५ करोड रुपियाँ तत्कालै पठाइसकेकाे आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पन्तले बताए ।

आयोजनाले मुआब्जाकै लागि भनेर हाल ३० करोड रुपियाँको हारहारीमा बजेटसमेत विनियोजन गरेको उनले जानकारी दिए । लार्के खोलाको १७ र यांग्री खोलाको १७ करोड लिटर गरी दैनिक ३४ करोड लिटर पानी दैनिक काठमाडौंमा ल्याउन यो आयोजनाले सहयोग गर्नेछ।

हाल यस आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सम्पन्न भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयारीको क्रममा रहेको छ। सेप्टेम्बरसम्म प्रतिवेदन तयार हुने आयोजनाको दाबी छ।

सन् २०१७ जनुअरीमा स्पेनी परामर्शदाता इप्टिसाले डीपीआरको काम गरेको थियो। दैनिक ५१ करोड लिटर पानी ल्याउन मेलम्ची, लार्के र यांग्री खोलाको पानी काठमाडौं सुन्दरीजलस्थित निर्माण भइरहेको पानी प्रशोधन केन्द्रमा खसाल्नुपर्दछ। लार्के खोलाबाट यांग्री खोलामा र त्यसपछि मेलम्चीमा पानी खसालेर सुन्दरीजलमा पानी ल्याउने योजना छ।

यांग्रीबाट दैनिक १७ करोड लिटर पानी मेलम्ची खोलामा खसाल्न ९ किमि सुरुङ र लार्के खोलाबाट १७ करोड लिटर पानी दैनिक यांग्रीमा खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ।

लार्के र यांग्रीको काम सम्पन्न भएपछि उपत्यकामा दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुनेछ। दैनिक ५१ करोड लिटर पानीको आपूर्ति भएपछि काठमाडौंबासीको खानेपानीको मागलाई ९० प्रतिशतले धान्ने विज्ञहरुले बताएका छन्। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.