ललिता निवास जग्गा प्रकरणः किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला

रिपोर्ट नेपाल | 2019 Aug 18 | 08:01 am 2491

काठमाडौं, भदौ १: बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् ।

विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट प्राप्त गरेको छ । पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक खडा गरिदिएको भेटिएको थियो ।

जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो ।

त्यही कागजलाई तत्कालीन जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, पुनरावेदन अदालतका न्यायाधीशद्वय शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठले ‘सद्दे’ ठहर्‍याएका हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आफ्नो प्रतिवेदनमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने खेलमा संलग्न भनी रामकुमार सुवेदी र ढकाललाई ‘भूमाफिया’ किटान गरेको थियो ।

ढकालले पत्नी उमा ढकाल्नीको नामबाट तमसुक गरेका हुन् । यससम्बन्धी कागजात अध्ययन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उमाको नाम प्रयोग भए पनि सबै काम शोभाकान्तबाटै भएको छ ।

अदालतमा दिएको जवाफ र अन्य विवरणअनुसार उमाको नामबाट शान्ता र उनका देवर नारायण खनालको नाममा २ करोड ५० लाख रुपैयाँ ऋण दिएको तमसुक बनेको थियो ।

त्यसबीच शोभाकान्तसँग मिलेर उनैको इसारामा नारायणले दाइ चन्द्रमणि र भाउजू शान्ताविरुद्ध अंशमुद्दा गरेका थिए । त्यो मुद्दा हारेलगत्तै शोभाकान्तले पत्नीका नामबाट शान्ताविरुद्ध लेनदेन मुद्दा अघि बढाएका हुन् । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.