काठमाडौं, साउन २८ : नेपाल विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ। सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताए।
कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको हो । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।
आर्थिक वर्ष २०७४/७५ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ । योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।
३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो । आव ०६६/६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो । आव ०६७/६८मा ६ अर्ब ९ करोड, ०६८/६९मा ९ अर्ब ९५ करोड, ०६९/७०मा ३ अर्ब ४० करोड र ०७०/७१ मा ५ अर्ब १३ करोड प्राधिकरणले घाटा बेहोरहेको थियो ।
कुलमान घिसिङ कार्यकारी भएर आउँदा यस्तो घाटा ८ अर्ब ८९ करोड थियो । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताएका छन् । विद्युत क्षेत्रमा भइरहेका काममा कहिं कतैबाट अवरोध नपुगेको खण्डमा देश उर्जाको क्षेत्रमा चाँडै नै अगाडि बढ्ने उनले दावी गरे ।