काठमाडौं, साउन २३:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् ।
यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली पनि अपनाउन थालेका छन् । घुस रकमको साटो घरमा विलासिताका सामान थुपार्ने प्रवृत्ति पनि कर्मचारीमा देखिएको अख्तियारको भनाइ छ । यसैगरी, प्रहरी सुरक्षाकर्मीतर्फ टिपरहरूबाट वा अन्य कुनै व्यापारिक थलोबाट मासिक रूपमा रकम उठाएर अनियमितता गर्ने गरेको पाइएको छ ।
अख्तियारले एक वर्षको अवधिमा घुस खाने २ सयभन्दा बढी कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । यसरी पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने प्रवृत्ति फरकफरक पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने शैली फरकफरक पाइएको छ,’ प्रवक्ता कोइरालाले भने ।
विगतमा पनि मालपोत, भन्सार, यातायात, नापी, उद्योग, स्थानीय तहलगायतका सरकारी अड्डाका कर्मचारीले बिचौलियासँग मिलेर अनियमितता गर्दै आएको अख्तियारको अध्ययनले देखाएको छ । राजधानी दैनिकबाट