नेपाली एयरलाइन्सले चीनका १५ विमानस्थलमा उडान गर्न पाउने, हप्तामा ९८ उडान हुने

| 2019 Jul 26 | 03:55 pm 1965

काठमाडौं, साउन १० : नेपाल र चीन सरकारबीच सात दिनमा ९८ उडान गर्ने पाउने गरी हवाई सम्झौता पुनरावलोकन भएको छ ।

जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७० उडानको सहमति भएको छ । पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको वार्तामा सहभागी पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिएका छन् ।

यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति थियो । सन् २०१४ मा भएको नेपाल–चीनबीचको हवाई सम्झौता पुनरावलोक वार्ता हिजोदेखि चीनको बेइजिङमा शुरु भएको हो । सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ शहरमा उडान गर्न पाउने भएका छन् । यसअघिको सम्झौतामा सात शहरमा मात्र उडान गर्न पाउने सम्झौता थियो ।

नेपाली वायुसेवा कम्पनीले चीन उडानमा अनुमति नपाए पनि चिनियाँ ५ वटा वायुसेवा कम्पनीले नेपाल उडान गरिरहेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि चीन उडानको तयारी गरिरहेका छन् । तर चीनले नेपाल वायुसेवा निगमलाई अनुमति दिँदा ‘सेफ्टी अडिट’ को विषय अघि सारेको छ । हिमालय एयरलाइन्सको सेफ्टी अडिट भने पास भइसकेको छ ।

वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली चीन गएको हो । टोलीलाई हवाई सम्झौता पुनरावलोकनका लागि मन्त्रिपरिषद्बाट समेत सहमति दिइएको थियो । चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६–५६ उडान गर्न सकिने उल्लेख थियो । यो सहमतिबाट बढाएर हाल सातामा ७० उडान पुर्‍याइएको थियो । अब भने यो संख्या उपत्यका बाहिर २८ समेत गरी सातामा ९८ उडान पुगेको छ ।

पछिल्लो समय मात्रै नेपाल एयरलाइन्सले चीनको गोन्जाओ उडानको तयारी गरेको थियो । तर, त्यसमा पनि चीनले नेपाल एयरलाइन्सको ‘सेफ्टी अडिट’ गर्नुपर्ने भन्दै उडानमा अनुमति दिएको छैन । सेफ्टी अडिटको प्रस्ताव गरेपछि नेपाल एयरलाइन्स पनि केही पछाडि हटेको छ । त्यसको अर्थ नेपाल एयरलाइन्सले हवाई सुरक्षामा सुधार गर्न नसकेको हो कि भने प्रश्न उब्जिएको छ।

तर, नेपाल एयरलाइन्सले हवाई सुरक्षा व्यवस्थालाई सुधार गर्दै सेफ्टी अडिटमा सहयोग गर्नुको सट्टा आफू स्वयम् कमजोर रहेको पुष्टि हुनेगरी ‘डराएर’ बसेको छ । सेफ्टी अडिटमा खुट्टा कमाउँदै आएको पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले यसकै कारण एक वर्षअघि किनेका एयरबसका ए–३३० विमानले लामो दूरीमा उडान गर्न पाएका छैनन् ।

चीनबाट धेरै विमान नेपाल आउने र उनीहरुले पर्याप्त यात्रु पनि पाउन थालेसँगै ७० उडानलाई तन्काएर सातामा १ सय उडानसम्म गर्न पाउने गरी हवाई सम्झौता पुनरावलोवनको प्रस्ताव चीनले गरेको थियो । यो सम्झौतामा चीन भने सफल भएको छ ।

मन्त्रालयले ‘नेपाल भ्रमण वर्ष, २०२०’लाई लक्षित गर्दै हवाई सम्झौता पुनरावलोकन गरेको मन्त्रालयका उपसचिव नेपालले बताउँछन् । नेपालले अहिले पुरानो सम्झौताअनुसार चीनका सात शहरमा उडान गर्न पाउने भए पनि अब यो बढेर १५ पुगेको छ ।

पुरानाो सम्झौतामा नेपालले बेइजिङ, सांघाई, ल्हासा, गोन्जाओ, कुनमिङ, छेन्दु र सियान गरी सात शहरमा उडान गर्न पाउने उल्लेख छ । अहिले चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.