कास्की, साउन २: पोखरा महानगरपालिका–१६ सिप्लेकुनास्थित स्थानीय सोभित बहादुर केसीकाे कुखुराको खोरमा पसेको चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको छ ।
मंगलबार राति पसेको चितुवा चितवनबाट डार्टिङ (बन्यजन्तुलाई टाढैबाट बेहोस बनाउने सुई राख्ने प्रविधि) टोली झिकाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले जानकारी दिए।
कुखुरा खोरमा चितुवा पसेपछि केसीले डिभिजन वनमा खबर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले चितवनबाट ४ जनाको डार्टिङ टोली बोलाई चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिएको हो। कुखुराको खोरमा पसेको चितुवा ढोका बन्द भएपछि थुनिएको थियो ।
डरले एक्कै ठाउँमा जम्मा भएका कारण ८/१० वटा कुखुरा मरेको सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए। डार्टिङ टोलीले कुखुरालाई समेत कुनै क्षति नपुर्याइ सफलरुपमा चितुवालाई नियन्त्रणमा लिएको पराजुलीले जानकारी दिए । नियन्त्रणमा लिएको चितुवालाई पोखराको लेखनाथस्थित पचभैयाको वन्यजन्तु उद्धार केन्द्रमा पठाइएको छ ।