प्रधानमन्त्री ओली भन्छन् प्रेस जगतले आफूलाई खेदो खन्याे

रिपोर्ट नेपाल | 2019 Jul 16 | 07:36 am 1747

काठमाडाैं, असार ३१:  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगतले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भने, मलाई मिसन पत्रकारिताले पेल्यो ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोखेका हुन् ।

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भने, मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ । ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता गर्यो, त्यसलाई कसरी नराम्रो भन्ने ? रेग्मीले प्रश्न गरे, बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा ब्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न ।

हामीकहाँ सन्तुलनको समस्या हो, समानुपातिक ढंगले विषयलाई ग्रहण गर्न नसक्दा समस्या सिर्जना भएको हो । उनले अर्थोपार्जन नगरी प्रेस जोगिन्न भन्दै संस्था जोगाउन गरिने मिसनलाई सही ठान्ने मानसिकता आजको मूल समस्या भएको उल्लेख गरे ।

करिब दुई शताब्दीदेखि प्रकाशित हुँदैआएको बेलायती अखबार गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर एक लेखमा भन्नुहुन्छ, असामान्य र अस्थिर अवस्थामा प्रेसको पहिचान हुन्छ, यस्तो बेला ठीक मिसनलाई समातेर जुन मिडियाले पत्रकारिता गर्छ, त्यसबाट उसको पहिचान बन्छ । मिसन पत्रकारिताको आवश्यकता आजको बदलिंदो अवस्थामा अझ बढेको उनको भनाइ छ ।

हामी आज इतिहासकै विशेष परिस्थितिमा छौं, यो परिस्थिति नयाँ प्रविधिले सृजना गरेको हो जसले हाम्रो जीवनका हरेक पक्षमा अपूर्व प्रभाव पारेको छ । पहिलाजस्तो अखबार, रेडियो, टेलिभिजनआदि मात्र सार्वजनिक महत्वका विषय छलफलमा ल्याउने मञ्च रहेनन्, पछिल्ला दुई दशकमा यसको स्थान नयाँ मिडियाले लिइसकेको छ, विगत दुई शदाब्दीमा नभएको परिवर्तन यी दुई दशकमा भएको छ । स्वभावतः यस अवस्थामा मिसन पत्रकारिताको महत्व बढेको छ ।

अ मिसन फर जर्नलिजम इन अ टाइम अफ क्राइसिस लेखमा भाइरन भन्छन्, हामीले किन पत्रकारिता गर्ने, हाम्रो मिसन के हो भन्ने विषयमा प्रष्ट हुनैपर्छ, अन्यथा नयाँ मिडियाका अगाडि परम्परागत गार्जियन दैनिकजस्ता दुई शताब्दी पुराना अखबारको पनि अर्थ हुनेछैन ।

रेग्मी र भाइरनका भनाइले मिसन पत्रकारिता हिजो थियो र भोलि पनि रहन्छ, रहनु पनि पर्छ । असामान्य परिवेशमा मिसन पत्रकारिता नै गर्नुपर्छ । नेपालको लोकतान्त्रिक अभ्यासमा बीपी कोइरालापछि केपी शर्मा नै दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री हुनुहुन्छ, उनले नै लोकतान्त्रिक संस्कार र संस्कृतिको मानक तयार पार्ने भएकाले उनका हरेक व्यवहार पत्रकारको आँखामा पर्नु आवश्यक छ । मिडिया विज्ञ रेग्मीले भनेजस्तै लोकतान्त्रिक अभ्यासको विकासमा प्रधानमन्त्री सहायक हुनसकून् भन्ने बृहत् मिसन समाचारमा अन्तरनिहित छ । यसलाई प्रधानमन्त्रीले पत्रकारले लखेटेको रुपमा बुझ्नुहुन्न ।

प्रधानमन्त्री ओलीले पहिलो पटक आम नागरिकसँग क्षमायाचना गरेर आफ्नो लोकप्रियता बढाएका छन् । उनको लोकप्रियता बढ्दा लोकतन्त्रलाई सघाउ पुग्ने अवस्था भएकाले प्रेसले महत्व दिएको छ, यसलाई पनि खराब मिसन भन्न मिल्दैन । विषादी परीक्षण गरेर मात्र भारतलगायतका मुलुकबाट तरकारी तथा फलफूल भित्र्याउने सम्बन्धमा नेपालस्थित भारतीय राजदूतावासबाट दबाबमूलक पत्र आएको सम्बन्धमा उनले आफ्ना  कर्मचारीले जानकारी नदिएका कारण पत्र आएको छैन भनेर सार्वजनिक रुपमा बोलेको’मा माफी मागेका हुन् ।

तर माफी माग्दामाग्दै उनले  मलाई जसले गुमराहमा राख्यो, उसलाई खोजेर कारबाही गर्छु भनेका छन् । असार १४ मा आएको पत्रका बारेमा १७ दिनपछि पनि ‘दोषी पहिचान’ हुन सकेको छैन, अब फेरि समाचार बन्नेछ । त्यसलाई पनि प्रधानमन्त्रीले मिसन पत्रकारिताले पेल्यो भनेर टिप्पणी गर्न सक्नुहुन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा विषादी जाँचेर मात्र तरकारी पैठारी गर्ने प्रस्ताव ल्याउँदा पूर्वतयारी नै नहेरी सदर गर्ने क्याबिनेट नै दोषी हो भन्ने सत्य स्वीकार नगरेका कारण अर्को समाचार पनि बन्नसक्छ । कतिलाई मिसन पत्रकारिता भनेर गाली गरिरहने ? आजकाे नेपाल समाचारपत्रमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.