लुम्विनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिला पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 13 | 12:37 pm 1362

पाल्पा, असार २८ : पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार दिउँशो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा भेटिएपछि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।

नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएको प्रहरीले जनाएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शु्क्रबार जमुनाकी आमालाइ सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।

त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । लामो समयदेखि अस्पतालभित्र ती महिलालाइ बस्न दिनु शंकास्पद रहेको आफन्तको भनाइ छ ।

प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.