काठमाडौं, असार २५: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर घटनामा एक प्रहरीको निधन भएको जानकारी गराएका छन् । बुधबार महानिरीक्षक खनालले घटना बारे संसदलाई जानकारी गराउँदै सादा पोशाकका प्रहरीमाथि आक्रमण भएको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका महानिरीक्षक खनालले घटनाका विषयमा जानकारी गराएका हुन् । जिल्लाको सदरमुकामस्थित भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्दा प्रहरीले जवाफी फायरिङ गरेपछि नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको बताउदै महानिरीक्षक खनालले घुमुवा टोलीमाथि एक्कासि गोली चलेको जानकारी गराए ।
भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर मृत्यु हुनेमा विप्लव समूहका ३५ वर्षीय ओखलुढुंगाको जिल्ला इन्चार्च नीरकुमार राई छन् भने नेपाल प्रहरीका जवान सञ्जीव राईको पनि विप्लव पक्षका कार्यकर्ताको गोली लागेर मृत्यु भएको छ। घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन्।