हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन

रिपोर्ट नेपाल | 2019 Jul 03 | 07:00 pm 2153

काठमाडौं, असार १८:  नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २५ जना महासेनानी दर्जाका शिक्षार्थी सहभागी गराई २०७५ चैत्र ५ गतेबाट संचालन भएको सि.सं. ६ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको समापन गरिएको छ ।

बुधबार एक बिशेष समारोह बीच नारायणहिटीस्थित प्रधानसेनापति पूर्णचन्द्र थापाले श्री उपत्यका पृतना हेडक्वाटरमा आफ्नो मन्तब्य दिएर समापन गरिएकाे हाे ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको अपरेशनल तहका नेतृत्व वर्ग तयार गर्ने उद्देश्य अनुरुप विगत ६ वर्ष अगाडि देखि नेपाली सेनाले सञ्‍चालन गर्दै आएको बताए । यस उच्चस्तरको तालिमले जटिल अपरेशनल परिस्थितिको सुक्ष्म मुल्याङ्कन गर्दै सहि निर्णय लिन सक्षम तुल्याउनुका साथै मातहतका नेतृत्व वर्गलाई समेत सोहि बमोजिम निर्देशित गर्न योग्य बनाउन मद्धत पुग्ने जनाए ।

सम्बोधनको क्रममा उनले यस तालिमबाट संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यको विविध कार्यहरु प्रभावकारी ढंगले सम्पादन गर्न र अन्य बहुराष्ट्रिय वातावरणमा कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्न मद्धत पुग्ने विचार व्यक्त गरेका थिए ।

सोहि क्रममा थापाले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले नेपालको सुरक्षा चुनौतिको विश्‍लेषणको लागि पेशागत दक्षताका साथ उच्च सैनिक संस्कार र मान्यताको थप विकासमा समेत यस किसिमको तालिम फलदायी सावित हुने विश्‍वास व्यक्त गरेका छन् ।

प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा सँग सम्बन्धित चुनौतिहरुलाई लक्षित गर्दै त्यसको समाधानको लागि राष्ट्रिय सुरक्षा सँग सम्बन्धित सबै निकायहरुलाई एकै ठाउँमा ल्याई प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्ने उद्देश्यका साथ नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षा विश्‍वविद्यालयको स्थापनाको अवधारणा राखिसकेको उल्लेख गरेका थिए ।

राष्ट्रिय सुरक्षा सँग सम्बन्धित चुनौतिहरुलाई समेटेर अध्ययन, विश्‍लेषण र सुझावहरु दिई राष्ट्रिय सुरक्षा विश्‍वविद्यालय स्थापनाको अवधारणालाई परिणाममुखी बनाउन यस तालिम एक कोशे ढुंगा सावित हुने विश्‍वास व्यक्त गरेका छन् ।

समापन कार्यक्रमको प्रारम्भमा तालिमको मुख्य शिक्षक सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत ईश्‍वर हमालले स्वागत मन्तव्य राखेका थिए । उक्त समापन कार्यक्रममा विभिन्‍न विषयका प्राध्यापक, काभ्रेपलाञ्‍चोक जिल्ला मन्डन देउपुर नगरपालिकाका प्रमुख, पूर्व प्रधानसेनापति, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, पूर्व न्यायधिवक्ता, पूर्व सचिवहरु, पूर्व राजदूतहरु, विभिन्‍न विषयका विज्ञहरु, प्राज्ञिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.