नेकपाका सांसदहरु नेतृत्वसँग खनिए

| 2019 Jul 02 | 07:48 am 2352

काठमाडौं, असार १७:  संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् ।

नेकपाका सांसद झपटबहादुर रावलले सबैजसो सांसदले आफूलाई लागेका कुरा खुलेर राखेको बताए । ‘लुकाउने छिपाउने कुरा आएन, जे छ त्यो सत्य हो भनियो, नेता केन्द्रीत नीति र व्यवहार देखिएकोमा विरोध भयो’, रावलले भने– ‘यस्ता छलफल पहिले नै किन भएनन् भनेर प्रश्न गरें, पार्टीलाई सही ढंगले लानलाई नै सुझाव आएको छ, नेतृत्वले सुन्नुपर्छ ।’

रावलले सरकारले जनताका पक्षमा काम नगरेको, पार्टी एकता टुंगिन नसकेको, नेताहरुले तल्लो तहसम्म अधिकार बाँडफाँड नगरेको, बजेट व्यावहारिक र जनमुखी नभएकोलगायतका विषयमा सबैजसो सांसदले धारणा राखेको बताए ।

रावलले सत्तारुढ दलका सांसदले नै बजेटपुस्तिका फिर्ता गर्ने र बजेटसम्बन्धी छलफलमा रोस्ट्रममा गएर मौनधारण गर्ने अवस्था नआओस् भनेर सरकारलाई सचेत गराए । रावलले गत वर्ष आफ्नो क्षेत्रमा मन्त्रालयले बजेट नपारेको भन्दै बजेटपुस्तिका फिर्ता गरेका थिए । उनले यसपालि पनि बजेटले क्षेत्रलाई नछोएको भन्दै रोस्ट्रममा गएर मौनधारण गरेका थिए ।

सांसद भीमबहादुर रावलले सरकारका विषयमा कडा प्रतिक्रिया दिएका थिए । उनले सरकार राष्ट्रियताको मुद्धामा कमजोर भएको, गुटगत आधारमा वजेट बिनियोजन गरिएको, सरकारले दिएका आश्वासन जनतामा पूरा गर्न नसकेकोलगायतका विषय उठाएका थिए । पछिल्लो समयमा भीम रावल सरकारको विपक्षमा खरो रुपले बोल्दै आउएका छन् ।

सांसद खेमप्रसाद लोहनीले जनताको भावनाअनुसार सरकारले काम गर्न नसकेको गुनासो सशक्त रुपमा उठेको बताए । ‘धेरै विषय उठाइए, जसको कार्यान्वयन गरे सरकार र पार्टी दुवैलाई नै फाइदा हुन्छ’, लोहनीले भने– ‘खासै नयाँ कुरा त आएन तर आफ्नो धारणा प्रष्ट रुपमा राख्ने काम भयो, केही कमीकमजोरी भए सच्याउनुपर्ने सुझाव आएको छ, पार्टीले राम्रा कुरालाई सुन्नुपर्छ ।’ उनले संविधान कार्यान्वयन गर्न र पार्टी समायोजनको विषय पनि तत्कालै टुंग्याउन नेतृत्वलाई दबाब परेको बताए ।

यसअघिका दलका बैठकमा अध्यक्षद्वयले मात्र बोल्ने र बैठक सकिने इतिहास रहेको थियो, सोमबार पनि यस्तै होला भन्ने सांसदको कल्पना थियो तर बोल्न पाएपछि सांसदहरु पनि खुसी भएका छन् । बोल्नका लागि नाम टिपाएका २१ जना बाँकी नै छन् ।

बैठकमा अध्यक्षद्वयसहित २९ जनाले बोलेका थिए । पार्टीका कुनै पनि कमिटीको बैठक नबस्दा पार्टी पदाधिकारी, स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र अन्य नेताहरु कहाँ बोल्ने भन्ने अन्योलमा पर्दै आएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्र पार्टीको सबै निर्णय गरेको र पार्टी पंक्तिलाई बेवास्ता गरेको आरोप लाग्दै आएको छ ।

झण्डै ४ घण्टा चलेको बैठकमा खगराज अधिकारी, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, विमला विक, निरुदेवी पाल, रामकुमारी झाँकी, पार्वत गुरुङ, पदम गिरी, मोहन बानियाँ, मेटमणि चौधरी, तिलबहादुर महत, लालबहादुर थापा, अञ्जना विशंखेलगायतले धारणा राखेका थिए । अर्को बैठक आगामी शनिबार बस्नेछ । यस प्रकारका बैठक बारम्बार बसेर पार्टी र दलभित्र प्रशस्त छलफल गर्नुपर्ने सांसदहरुको माग छ । नेपाल समाचारपत्रबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.