सिसडोलमा अवरोधका कारण उठेन काठमाडौंको फोहोर

रिपोर्ट नेपाल | 2019 Jun 30 | 07:14 am 2328

काठकाडाैं, असारा १५:  पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउन छाडेकाे छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न नसकेकाे  हो । सिसडोल डम्पिङसाइडमा फाेहाेर भरिसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएका छन् ।

समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले नुवाकोट–१ का प्रदेश सांसद बद्री मैनालीलाई बोलाएर महानगरपालिकाले सहमति गरेको, तर पीडितको आवाज नसुनेको बताए । महानगरपालिका सचिव केदार न्यौपानेले शुक्रबार बद्री मैनाली, कनकी–२ का वडाध्यक्ष चन्द्रबहादुर बलामी, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहरी विकास मन्त्रालयका प्रतिनिधिसँग समस्या समाधानका लागि छलफल गरेका थिए । स्थानीयको जग्गा अधिग्रहणका लागि विज्ञ टोली गठन गर्ने र प्रतिवेदनका आधारमा सरकारलाई सिफारिस गर्ने सहमति भएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीयको अवरोधका क्रममा झडप, ११ पक्राउ
शुक्रबारको सहमतिअनुसार महानगरले शनिबार बाटोमा रोकिएका फोहोर बोकेका ट्रकलाई डम्पिङ साइटमा पठायो, तर स्थानीयले अवरोध गरे । सो क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो । फोहोर फाल्न अवरोध गर्ने ११ जनालाई पक्राउ गरेका छौँ । सामान्य झडप भएको हो, नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर अल्ली मगरले भने ।

स्थानीयले भने प्रहरीले लाठीचार्ज गर्दा चरी बलामी घाइते भएको बताएका छन् । स्थानीयको अवरोधका बीच बाटोमा रोकिएका ६० ट्रिप फोहोर व्यवस्थापन गरिएको महानगरले जनाएको छ । स्थानीयले लिखित रूपमा छलफलका लागि नबोलाए अवरोध जारी राख्ने चेतावनी दिएका छन् । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.