काठमाडौं, असार १३: नेपाली कांग्रेस चितवनका पुराना नेता एवम् प्रजातन्त्र सेनानी मुक्तिलाल चुकेको शुक्रबार निधन भएको छ । ८४ वर्षीय नेता चुकेको आफ्नै निवास नारायणगढमा निधन भएको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले बताएकी छन् ।
गुल्मी जिल्लाको वामी टक्सारबाट बसाई सराई गरेर चितवन गएका चुके नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर भएको उपमेयर शाहले बताएकी छन् । पंचायती व्यवस्थामा भएको राष्ट्रिय पंचायत निर्वाचनमा प्रजातन्त्रवादी जनपक्षिय उम्मेदवार भई राष्ट्रिय पंचायतको सदस्य समेत बनेका चुके भरतपुर नगरपालिकाको संस्थापक मेयर बनेका थिए ।
पंचायती कालरात्रीका समयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको आश्रयस्थलको रुपमा उनको निवास हुने गर्दथ्यो । बहुदलिय व्यवस्थाको आगमन अघि र पछि सम्मेलन गर्नका लागि उनी नै बैंकका रुपमा स्थापित भएको चितवनका कार्यकर्ताहरु बताउँछन् ।
हकी स्वभावका चुके आफूलाई मनमा लागेका कुरा ढुक्क र प्रष्टसँग बोल्ने भएकै कारण पदीय रुपमा अगाडि जान आफ्नै पार्टीका मान्छेहरु तगारो बने पनि उनी चितवनमा प्रजातन्त्रको धरोहरका रुपमा रहेका थिए । चुकेको निधनले आफूलाई राजनीतिक गुरु, अभिभावक , सच्चा प्रजातन्त्रवादी र देशभक्ती नेता गुमाएको उप मेयर पार्वती शाहको भनाई रहेको छ ।
त्यस्तै नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेनले आफूले आफ्ना् राजनीतिक यात्राको प्रेरणाको स्रोत गुमाएको बताएका छन् । नेता सेनले अग्रज नेता चुकेको निधनले नेपाली कांग्रेसलाई अपुरणिय क्षति पुगेको बताएका छन् ।