बालुवाटार जग्गा प्रकरण : थप तीन जनालाई अख्तियारको सात दिने पूर्जी

| 2019 Jun 27 | 03:24 pm 1286

काठमाडौं, असार १२ : ललिता निवासको जग्गा अनियमिततामा मुछिएका दुई भूमाफियासहित एक कर्मचारीलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्जी काटेको छ ।

आफ्नो घर ठेगानामा उनीहरु नभेटिएपछि अख्तियारले बिहीबार बिहान सात दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइराला म्याद टाँस्दा पनि नआएकाहरुलाई सार्वजनिक सूचना निकालिएको बताउँछन् । उनले सूचनाको सूचीमा रहेका बाहेककाहरु पनि छानबिनको दायरामा रहेको जानकारी दिएका छन् ।

आयोगले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरी डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी र हुपेन्द्रमणि केसीका नाममा पूर्जी जारी गरेको हो । उनीहरुको निवासमा केही दिनअघि पूर्जी टाँसिएको थियो ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ८६ जनालाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो । ८६ जनाको सूचिमा शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ‘भूमाफिया’ भनी किटान गरेका शोभाकान्त ढकाल, रामकुमार सुवेदीको परिवारसहितका व्यक्ति र शंकास्पद मोहीहरु थिए ।

‘सरकारले मुआब्जा दिई अधिग्रहण गरिलिएको ललिता निवास क्याम्पभित्र पर्ने २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाण्डौं, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई’ अख्तियारले बुधबार गोरखापत्रमा निकालेको सार्वजनिक सूचनामा भनिएक छ, ‘अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ ।’

अख्तियारले उनीहरुलाई आयोगमा सात दिनभित्र उपस्थित हुन सूचना निकाल्दै उपस्थित नभए कानून अनुसार कारवाही प्रक्रिया अघि बढ्ने चेतावनी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.