मंगलबारपनि संसद्‍मा ‘गलबन्दी’कै चर्चा

रिपोर्ट नेपाल | 2019 Jun 25 | 01:14 pm 1820

काठमाडौं असार १० प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि प्रकाश सपुतको “गलबन्दी” गीतको चर्चा भएको छ । शुन्य समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई सांसद्ले उक्त गीतको प्रसङ्ग उठाएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद् बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारको गाएको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भन्ने गीत बाझियो भनेर दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गर्ने काम भएको भन्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याई अबिलम्ब कारवाहीको माग गरे ।

यस्तै नेकपाकै अर्का सांसद् महेश्वरजंग गहतराज अथकले प्रकाश सपुत र शान्ति श्री परियारलाई अपमानित गर्नुको साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरि सामाजिक संञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग गरेका छन्।

यसअघि सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद् मीनबहादुर विश्वकर्माले पनि गीतको विषयलाई लिएर सामाजिक सञ्जालमा तल्लो स्तरको गाली गर्ने र लोकभाका मिल्यो भनी मुद्दा हाल्नेलाई कारवाहीको माग गरेका थिए ।

प्रकाश सपुत र शान्ति श्री परियारले गाएको ‘गलबन्दी’ बोलको गीतलाई अर्का गायक शम्भु राईले आफ्नो गीतबाट लय चोरी गरेको आरोप लगाएका थिए । आरोपपछि दुईपक्षलाई समर्थन गर्नेहरुले सामाजिक सञ्जालमा तल्लोस्तरका शब्दहरु प्रयोग गरी गालीगलौज गर्ने काम भइरहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.