काठमाडौं, असार १०: नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक रूपमा परेको छ। बिहानैदेखि केही सवारी साधन चलेका छन् भने केही संख्यामा मात्रै शिक्षण संस्था खुलेका छन्।
लामो दुरीका सवारी साधन नचले पनि छोटो दुरीका सवारी भने आशिंक रुपमा चलेको जिल्ला स्राेतहरुबाट जानकारी प्राप्तभएकाे छ । उपत्यकामा भने विभिन्न रुटमा चल्ने सवारी केही मात्रै चलेका छन्।
पश्चिममा महेन्द्रनगर र धनगढीबाट छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन। नेपालगञ्ज र बुटवलमा पनि आशिंक रुपमा सवारी साधान चलेका छन्। अप्रिय घटना घट्न नदिनका लागि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ।
बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्। मंगलबार बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन् बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयको भनाइ छ। प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन।
त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।
यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।
त्यस्तै विप्लवका कार्यकर्ताले जनजीवन त्रसित पार्न उदयपुरको विभिन्न ठाउँमा शंकास्पद वस्तु राखेका छन् । कटारी बजार र गाईघाटको प्रगतिटोलमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तुबारे नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ ।
विप्लव समूहका कार्यकर्ताले सिन्धुलीको भिमाद पुलमा पनि शंकास्पद वस्तु राखेका छन् । शंकास्पद वस्तुबारे सेनाले अनुसन्धान थालेको छ ।