हाजिरीजवाफ प्रतियोगिताको उपाधी निमालाई

रिपोर्ट नेपाल | 2019 Jun 22 | 10:28 pm 3034

काठमाडौं, असार ७: न्युटन हाई स्कुल बालुवाटारमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा माउण्ट समिट बोडिङ्ग स्कुलकी निमा ल्यामु शेर्पाले प्रतियोगिताको उपाधी जितेकी छन् ।

प्रतियोगिता न्युटन हाई स्कुलका पूर्व विद्यार्थीहरुको संगठन (न्युटन अलुमनाई) को आयोजनामा गत जेठ २५ गते सम्पन्न भएको थियो भने  शनिबार एक समारोह बीच घोषणा र पुरस्कार वितरण  गरिएको हो ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम पुरस्का एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार बीस हजार रहेको थियो ।

प्रतियोगिताको प्रथम हुनेमा माउण्ट समिट बोडिङ्ग स्कुलकी निमा ल्यामु शेर्पा, द्वितीय हुनेमा एल आर आइ स्कुलका आविस्कार बिक्रम सिंह र तृतीय हुनेमा लिटिल एन्जल्सका सुमित मोहन यादब पुरस्कृत भएका छन् ।

प्रतियोगितामा उपत्यकाका ६० विद्यालयका ७ सय ५३ जना कक्षा ७,८,९,र १० मा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगी विद्यार्थीहरुलाई समसामयिक ८ सय प्रश्नहरु पहिले नै अध्ययन गर्न दिएर १ सय वटा प्रश्नहरुमा वस्तुगत उत्तर छनौटको आधारमा लिखित परीक्षा लिइएको थियो ।

पुरस्कार समारोहका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा महानगरपालिका शिक्षा संयोजक मोहन बहादुर बिष्टले उत्कृष्ट ५० विद्यार्थीलाई सम्मान पत्र र प्रथम, द्वितीय, र तृतीय हुनेहरुलाई उक्त राशिका चेकहरु हस्तान्तरण गरेका हुन् ।

न्युटन स्कुलले विद्यार्थीलाई पढाउने मात्र काम नगरेर अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीको सर्वागिण विकाशमा जोड दिएको र यौटा उत्कृष्ट विद्यालयको रुपमा स्थापित भै सकेको अध्यक्ष विष्टले बताए ।

समारोहमा प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिन कुमार गुरुङ, न्युटन हाइ स्कुलका प्रिन्सिपल राम बहादुर केसी, सह प्रिन्सिपल नवीन मरासिनी लगायत प्रतियोगी विद्यार्थीका विद्यालयका प्रिन्सिपलहरुको उल्लेखनीय उपस्थिति थियो । न्युटन अलुमनाईका अध्यक्ष रितेश ठाकुरले यस्तो प्रतियोगिता हरेक बर्ष गरिने जानकारी दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.