सिंहदरबारमा पर्चा आतङ्क

| 2019 Jun 22 | 07:19 am 2470

राजा भारत जाने घोषणा भारतीय रेडियो आकाशवाणीमा प्रसारण भएको भोलिपल्टै कात्तिक १५ गते (२००७ साल) साँझ महावीर शमशेरको हिमालयन एयरवेजबाट काठमाडौं उपत्यकाभित्र घरका छानाछाना र सडकगल्ली जताततै राणाविरोधी पर्चा छरियो । फाट्टफुट्ट मात्र जहाज देखेका काठमाडौंबासीले उपत्यका थर्किने गरी निकैबेर आकाशमा फनफनी जहाज उडेको पहिलो पटक त्यही बेला देखोका थिए । त्यो दिन वीरगन्जदेखि काठमाडौंसम्म पर्चा छरिएको थियो । कात्तिक २६ र २७ गते नेपालको पूर्वी भागदेखि काठमाडौंसम्म रातो रंगको पर्चा छरियो । पर्चामा नेपाली सैनिकहरुलाई राजा त्रिभुवनको समर्थन गर्न अपिल गर्दै जहाजबाट बम खसालेर राणाहरुलाई समाप्त पार्ने चेतावनी दिएको थियो ।

पर्चा छरेलगत्तै नेपाली कांग्रेसको मुक्तिसेनाले वीरगन्ज कब्जा गर्यो । केही दिनसम्म वीरगन्ज मुक्तिसेनाको कब्जामा रह्यो । उता, जहाजले सिंहदरबारवरिपरि निकै बेर घुमेर पर्चा फालेको प्रधानमन्त्री मोहन शमशेरको सातो उडेको थियो । बम फल्न सक्ने त्रासका कारण उनी कात्तिक २५ गतेदेखि सिंहदरबारमा सुत्न सकेनन् । दरबारको दक्षिणपट्टि बरफबागमा गएर बसे । बरफबाग अहिले राष्ट्रिय अनुसन्धान विभागको मुख्यालय रहेको ठाउँ हो । भारतीय वायुसेवा प्रयोग गरी राणाविरुद्ध पर्चाबाजी गरिएको घटनालाई लिएर राणा सरकारले भारतसँग कडा आपत्ति जनायो । अनि कात्तिक ३० गतेदेखि अनुमतिबिना जहाज उडाउन भारत सरकारले प्रतिबन्ध लगाइदियो ।

२००७ साल मंसिर १ गतेको गोरखापत्रमा कात्तिक २५, २६ र २७ गते हिमाल एयरवेजको जहाज पर्चाबाजी गरेको खबर प्रकाशित भएको छ । पर्चा छर्नेमध्येका एक काँग्रेस नेता रामहरि जोशीले लेखकलाई सुनाएका छन्, पाइलटले नेपालको नेपालको नक्सा राखेका थिए । उनी कराउँदै ल फलानो ठाउँ आयो भन्थे । हामी त्यही आधारमा पर्चा खसाल्थ्यौं । सबैभन्दा बढी पर्चा विराटनगरमा खसायौं । फेरि चक्कर लगाएर हेर्यौं ।

माथिबाट हेर्दा सडक रातै देखिन्थ्यो । मौसम खराब भएका कारण एक पटक काठमाडौं छिर्न नसकेपछि जहाज इलाम, दार्जिलिङ हुँदै साँझ पुनः काठमाडौं ल्याइएको थियो । कांग्रेसले छरेको पर्चामा लेखिएको थियो “आजदेखि हाम्रो क्रान्ति सुरु भयो । तपाईहरु सबै तयार रहनुहोला । यो राणाशासन खत्तम हुनेवाला छ ।” मुक्तिसेनाले कब्जा गरेको वीरगन्ज केही दिनपछि फिर्ता लिन राणा फौज सफल भयो ।

अनि राणा सरकारले समेत भाडामा जहाज लिएर सहरभरि पर्चा छर्यो । पर्चामा “कांग्रेसका लुटेराहरुलाई बफादार सेनाले भगाएको भन्दै सेना तथा कर्मचारीको मनोबल बढाउने सन्देश थियो ।” त्यो बेला सिंहदरबारभित्र बन्दी बनाइएका गणेशमानले पनि राणाहरुले छर्न लागाएको एउटा पर्चा पढ्को उल्लेख गरेको छन् । जगत नेपालद्वारा लिखित बीपीको विद्रोह पुस्तकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.