कर्णाली नदीमा जीप दुर्घटनाकाे शोकमा असार १५ गते सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2019 Jun 21 | 04:44 pm 1660

सुर्खेत, असार ६  : कर्णाली नदीमा जीप दुर्घटना भएर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित ११ जना बेपत्ताको अझैसम्म अवस्था अज्ञात छ । सुरक्षा निकाय, गोताखोर र स्थानीय परिचालन गरेर खोजी गर्दा पनि कसैलाई भेट्न नसक्दा अहिले सो गाउँमा शोकमा मात्र छैन् थप पीडामा परेको छ ।

खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरुको खोजी तीव्र बनाउँदा पनि शव नभेटिएपछि बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ ।

यसबीच खार्पुनाथ गाउँपालिकाले ११ जनाको मृत्यु भएको शोकमा असार १५ गते शोक बिदा दिने निर्णय गरेको छ । बेपत्ता भएका यात्रुको कुनै पत्ता नलागेपछि गाउँपालिकाको कार्यपालिकाको बैठकले शोकमा बिदा दिने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीले विज्ञिप्त जारी गर्दै असार १५ मा शोक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । उक्त विज्ञिप्तमा असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय सबै बन्द हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.