खानेपानी मन्त्री र केयुकेएलका महाप्रबन्धक भट्टराईबीचको विवाद उत्कर्षमा

| 2019 Jun 18 | 07:18 am 1984

काठमाडौं, असार ३: खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन्। भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन्। हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो। तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन। काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ। त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ। भट्टराई स्वयंले पनि आफ्नो काज बिदा नवीकरण टुंगो नलागेको स्वीकार गरेका छन्। ‘काज बिदा नवीकरण प्रक्रियामा छ,’ उनले भने, ‘टुंगो लागेको छैन।’

काज बिदा प्रक्रिया टुंगो नलागेको अवस्थाका कानुनी रूपमा भट्टराई ‘एउटै व्यक्ति दुई संस्थामा रहेको’ पुष्टि भएको मन्त्री पक्षको आरोप छ। खानेपानी मन्त्रालयबाट केयुकेएलको सञ्चालक समिति बोर्डमा रहेका प्रतिनिधिहरू पनि एउटै व्यक्ति कानुनी रूपमा दुई संस्थामा रहन नमिल्ने दाबी गर्छन्। त्रिविबाट काज बिदा नवीकरण भएका बेला भट्टराई सहायक प्राध्यापकबाट प्राध्यापकमा बढुवासमेत भएका छन्। बढुवा हुनु त्रिविको नियमित प्रक्रिया भएको भट्टराईको प्रष्टोक्ति छ। तर मन्त्री पक्षले भने केयुकेएलमा महाप्रबन्धक भएको व्यक्ति त्रिविबाट बढुवा भएको विषयलाई नैतिकतासँग जोडेको छ।

मन्त्रालय नेतृत्व र भट्टराईबीचको द्वन्द्वमा काठमाडौं महानगरपालिका पनि जोडिएको छ। विगत दुई महिनादेखि केयुकेएलको सञ्चालक समितिको अध्यक्ष आफूले पाउनुपर्ने अडान राख्दै महनगरपालिकाले सञ्चालक समितिको बैठकसमेत बहिष्कार गर्दै आएको छ। काठमाडौं महानगरबाट प्रतिनिधित्व गरी सञ्चालक समितिका सदस्य बनेका महेश काफ्ले केयुकेएल सञ्चालक समितिको अध्यक्ष महानगरपालिकाले पाउनुपर्ने दाबी गर्छन्। आजकाे नागरिक दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.