सफा अनुहारले गर्ने कालो धन्दा बारे बुझ्न जरुरीः खरेल

रिपोर्ट नेपाल | 2019 Jun 17 | 12:42 pm 2299

काठमाडौं, असार २:  महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले प्रहरीको एकल प्रयासले मात्र समाजमा शान्ति सुरक्षा र अमनचयन हुन नसक्ने भएकोले समुदायले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महानगरीय प्रहरी नयाँ बानेश्वर वुत्तको परीसर भित्र भएको सिसिटिभी हस्तान्तरण कार्यक्रममा महान्यायधिवक्ता खरेलले सफा अनुहारबाट गरिने कालो धन्दा चिन्न मुस्किल हुने भएकोले सिसिटिभीको सहयोगको माध्यमबाट अपराधी पत्ता लगाउन सहज हुने बताएका थिए ।

पूर्व कानुनमन्त्री समेत रहेका खरेलले हामी हचुवाको भरमा मान्छेको गुनगान गाउँने र त्यस्ता मान्छेले गरेको अपराधिक कृयाकलापको अनुसन्धानमा समेत प्रभाव पार्ने काम हुँदै आएकोले अपराध कर्म गर्नेले निधारमा लेखेर नआउने भन्ने बुझ्न आग्रह गरेका थिए ।

समुदायमा भिज्न नसक्ने प्रहरीबाट अपराधिक अनुसन्धान पनि हुन नसक्ने भएको हुँदा प्रहरी हरेक दिन समुदायसँग सम्पर्कमा रहिरहनुपर्ने कुरामा खरेलको जोड रहेको थियो । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले समुदाय प्रहरी साझेदारी कार्यक्रम बिगतका अनुभवलाई माझेर परिस्कृत भएर आएको बताए ।

प्रहरी सयौं घटनामा गर्वका साथ अनुहार देखाउने हुन्छ भने एक आधा घटनाले गर्दा प्रश्न चिन्ह उठाउने गरेका समय बानेश्वर प्रहरीले गरेको कामबाट समुदायले दिएको सम्मानलाई गौरान्वीत तुल्याएको राईको भनाई रहेको थियो । एआइजी राईले आउँदो बानेश्वरको प्रहरी नेतृत्वले यो भन्दा कम गर्न नपाइने भन्दै नागरिकको सुरक्षाका लागि अझ बढी लाग्नु पर्ने बताए । राईले सिसि टिभीको जडानले जडित क्षेत्रमा त्यती निगरानी गर्न सयौंको संख्यामा परिचालन गर्नुपर्ने कर्मचारीको कमी भएको बताउँदै जडानका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्ष शैलेस थापाले निश्पक्ष न्याय सम्पादनमा सिसिटिभीको उल्लेख्य भूमिका रहने बताए । पूर्व गृहसचिव गोविन्द कुसुमले सुरुका दिनमा सिसिटिभी जडान र यसले पार्ने प्रभावका विषयमा सहयोगीहरुलाई बुझाउने अति कठिन भएपनि सुविधानगरमा अब कुनै अपराध नहुने सबै ढुक्क रहेको बताए ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको आग्रहमा सुरक्षित नाचगरिक समाज, एकीकृत उद्योगी संघ, सामुदायिक विकास समितिको विशेष सकृयतामा ७४ थान सिसिटिभी जडान गरिएको छ । समाजसेवी सुमित्रा कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एक वर्षे सफल कार्यकाल बिताएका डिएसपी गोविन्द काफ्लेलाई सम्मान गरिएको थियो । योगराज कडेलले संचालन गरेको सिसिटिभी हस्तान्तरण कार्यक्रममा सहयोगी संस्था र व्यक्तिहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.