काठमाण्डौ, जेठ ३२: (एजेन्सी) गत शनिबार देखि भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली लगायतको समूह फ्रान्सको सामोनी क्षेत्रमा रहेको केबलकारमा घुम्न जाँदा झण्डै पौने एकघण्टा बिचैमा अड्किएका छन् ।
फ्रान्सेली संचारमाध्यमहरुका अनुसार युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओली, उनकी पत्नीसहितको नेपाली टोली केबलकारमा झण्डै एकघण्टा अड्किएको हो ।
प्रधानमन्त्री ओलीसहितको समूह चढेको केवलकार २ हजार ५ सय मिटरको उचाइमा पुगेपछि अचानक अड्किएको थियो ।
केवलकारमा ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्नियलगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरुसहित ४० जना रहेका थिए ।
केबलकार चलिरहँदा एक्कासी ठूलो हावाको झोक्का बोकेर बादल उडेका कारण केबुलकार टेक्निसियनले केबुल कार रोकेका कारण अड्किएको बताइएको छ ।
खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोली त्यही गफ गरेर बसेको थियो ।
सामोनीका नगरप्रमुख एरिक फुर्नियले प्रधानामन्त्री ओलीको सम्मानमा स्वागत कार्यक्रम समेत राखेका थिए।
प्रधानमन्त्रीले त्यहाँको हिम चिप्लेटी (स्की) र उच्च हिमाली क्षेत्रका गाईडहरुलाई प्रशिक्षण दिने केन्द्रको पनि अवलोकन गरेका अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।