काठमाडौं, जेठ ३१ : १३ वर्षीया बालिकालाई चक्कु देखाउँदै बलात्कार गरेर फरार भएका एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक वतासे गा.वि.स वडा न. २ का निर बहादुर भन्ने रमेश थापालाई बिहीबार काठमाडौँको नयाँबजारबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवि) ले पक्राउ गरेको हो ।
थापाले २०७० साल मङ्सिर १६ गते काभ्रेपलाञ्चोक पोखरीचौरी गा.वि.स वडा नं. ४ स्थित रैकर जङ्गललमा १३ वर्षीय बालिकालाई चक्कु देखाई ज्यान मार्ने धम्की दिई जबरजस्ती करणी प्रहरीले जनाएको छ । थापालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले पनि दोषी ठहर गरिसकेको छ । अदालतको उक्त फैसलापछि थापा फरार भएका थिए ।
जिल्ला अदालतले २०७४ वैशाख २५ गते थापालाई दोषी ठहर गरी ८ वर्ष कैद र पीडित परिवारलाई ५० हजार नगद क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएकाे थियो ।
थापालाई काठमाडौँ जिल्ला अदालतमा बुझाइसकेको पनि सिआइविले जनाएको छ । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँमा पठाइसकेको समेत सिआइविले जनाएको छ ।