नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मालाई

रिपोर्ट नेपाल | 2019 Jun 13 | 07:05 am 1548

काठमाडाैं, जेठ ३०: बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला (४.५१ किमि) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ ।  सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । ‘सहभागीमध्ये हाज्माको ठेक्का रकम कम देखियो । त्यसमा पनि ७० करोड रुपैयाँ ऊ घटाउन राजी भयो,’ उनले भने, ‘सुरुङमार्ग निर्माणको ठेक्का उसैलाई दिने निर्णय भएको छ ।’

महाशाखाका अनुसार असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्नेछन् । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा हुनुपर्नेछ । कम्पनीले आगामी हिउँदबाटै काम सुरु गर्नेछ । यसअघि हाज्माले कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । ‘हाज्माको रेपुटेसन राम्रो छ । यसले लिएको सबै काम समयमा नै सकिएको छ,’ थापा भन्छन्, ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पनि निर्धारित समयमा नै सकिन्छ ।’

महाशाखाका अनुसार सुरुङमार्गको कुल लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माणमा लाग्ने सबै रकम जापानी सहयोग नियोग जाइकाको सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने .०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्नेछ ।

काठमाडौंको बलम्बुबाट सुरु हुने सुरुङमार्ग धादिङको सिस्नेखोलामा पुगेर टुंगिनेछ । आसपास पर्ने जग्गाको मुआब्जा वितरण सुरु भइसकेको छ । महाशाखाले काठमाडौंमा मुआब्जा वितरणका लागि दुई सय ८० घरपरिवार निर्धारण गरेको छ । त्यसमध्ये दुई सय ५० ले मुआब्जाका लागि निवेदन दिइसकेका छन् । प्रतिआना नौदेखि ४२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

तीन लेनको सुरुङमार्गको कुल लम्बाइ २.६८८ किमि छ । त्यसबाहेक २.४५ किमि भने सडकको भाग हुनेछ । सुरुङ र सडकको कुल लम्बाइ ४.५१ किलोमिटर रहनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपैयाँ ‘टोल ट्याक्स’ तिर्नुपर्ने हुन्छ । आजकाे नयाँ पत्रिकामा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.