बाँके, जेठ २९: जिल्लाकाे डुडुवा गाउँपालिकामा बुधबार आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएकाे छ । एक जना स्थानीय जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीबाट लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।
आगलागीबाट घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । उनले अग्नी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए ।
यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।