संसदमा गुठी विधेयकको तीब्र आलोचना

रिपोर्ट नेपाल | 2019 Jun 11 | 05:17 pm 1762

काठमाडौं, जेठ २८:  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबारको संसद बैठक सुरू हुनसाथ गुठी विधेयकका विषयलाई लिएर आ–आफनो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका राजेन्द्रकुमार केसीलाई बोल्न अनुमति दिएका थिए ।

बैठकमा सांसद केसीले कम्युनिष्टहरु संविधान, कानून, धर्म, संस्कृति र परम्परा मान्दैनन् भन्ने कुरा माइतीघरमा भएको घटनाले पुष्टि गरेको आरोप लगाएका थिए। संविधानमै धार्मिकस्थल र गुठीको संरक्षण गर्न पाइने व्यवस्था छ। काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानका जनता गुठी विधेयकको विरोधमा उत्रिएका छन्, उनले भने, गुठी विधेयकका नाममा धर्म र परम्परालाई चलाउने काम भएमा सैह्य हुने छैन।

सरकारले जतिसक्यो छिटो विधेयक फिर्ता लिएर समस्या समाधान गर्नुपर्नेमा राजधानीबासीलाई उत्तेजित पार्ने काम गरेको पनि सांसद केसीले आरोप लगाएका थिए । समयमै बुद्दी पुर्याएर विधेयक फिर्ता लिन सरकारसँग सांसद केसीले आग्रह गर्दै फिर्ता नभए राजधानीबासीले आन्दोलनको आँधीबेरी ल्याउँने चेतावनी दिएका थिए ।

पितापुर्खाले धर्म र सन्तानको हितका लागि राखेको गुठीको जग्गाप्रति सरकारको दृष्टिकोण के छ भनी प्रश्न गर्दै सांसद केसीले माइतीघर घटनाबारे छानबीन समिति बनाउन माग गरे ।

सांसद केसीले भनाइ राखेपछि गृहमन्त्रीले माइतीघर मण्डलाको घटनाका विषयमा जानकारी दिएका थिए। त्यसलगत्तै बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म र संस्कृतिका विरुद्धमा विधेयक आएको आरोप लगाउँदै सोको विरोधमा उत्रिएका जनतामाथि सरकारले माइतीघरमा किन बर्बरतापूर्ण दमन गरेको भनी प्रश्न गरे। उनले भने, प्रदर्शनमा उत्रिएका जनतालाई गिरफ्तारीपछि पनि कुटपीट गरिएको भन्दै उक्त घटनाको बिरोध जनाएका थिए ।

कांग्रेसकै पुष्पा भुसालले संस्कृति जोगाउने आन्दोलनमा भएको दमनप्रति सरकारले क्षमा माग्नुपर्ने माग गरेकी थिइन् । त्यसै गरी कांग्रेसकी अर्की सांसद डिला सङ्ग्रौलाले धर्म र संस्कृति जोगाउने सन्दर्भमा गुठी विधेयक फिर्ता गर भनेर गरिएको शान्तिपूर्ण आन्दोलनमा किन धरपकड भयो भनी छानबीनको माग गरेकी थिइन्।

त्यस्तै कांग्रेसका देवेन्द्रराज कँडेलले पनि पूर्वनिर्धारित विरोधको कार्यक्रम हुँदाहुँदै किन वैकल्पिक बाटोको व्यवस्था गरिएन भनी प्रश्न गरेका थिए। कांग्रेसका देवप्रसाद तिमिल्सिनाले शान्तिपूर्ण आन्दोलनमार्फत आफ्नो अधिकार संरक्षण गर्न शान्तिपूर्ण विरोध गर्न नपाउने कस्तो खाले लोकतन्त्रको अभ्यास हो भनी प्रश्न गरेका थिए।

संघीय समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठले संस्कृति र परम्परा मास्ने ढंगबाट संविधान विपरीत गुठी विधेयक आएको आरोप लगाउँदै सोको विरोधमा उत्रिएका जनतामाथि निर्मम ढंगबाट बल प्रयोग भएको भनी सरकारले यसमा माफी माग्नुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.