हावाहुरीसँगै चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल | 2019 Jun 10 | 06:55 am 2243

पर्सा, जेठ २७: केही महिनाअघि आएको हावाहुरीको पीडा साम्यहुन नपाउँदै आईतबार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ ।

आईतबार साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

चट्याङ लागेर मृत्यु हुनेमा ठोरी गाउँपालिका–१ का २१ वर्षीय राजु विष्ट रहेका छन्। खेतमा भैंसी चराउन गएका बेला चट्याङले लागेको उनको घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक प्रेम लामाले बताए ।

दार्चुला जिल्ला घर भएका विष्ट कक्षा ११ को परीक्षा सकेर ठोरीस्थित मावली घरमा दुई सातादेखि बस्दै आएका थिए ।

त्यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार हुरीले वीरगञ्ज महानगरपालिकामा मात्रै आईतबार पाँचजना घाइते भएका छन् ।

वीरगञ्ज–७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर स्थानीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगञ्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किँदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन् । पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

वीरगञ्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि साँझ ६ बजेपछि रेडियो प्रशारण बन्द भएको छ ।

हुरीले रेडियोको टावर बाँगिएको र १० वटाभन्दा बढी सोलार प्यानल पनि क्षति पुगेको रेडियोका कार्यकारी निर्देशक गोविन्द देवकोटाले जानकारी दिए । टावरमा क्षति पुगेपछि रेडियो प्रशारण अवरुद्ध भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.