काठमाडौं, जेठ २१ : सांसद विनोद चौधरीले देश चालु खर्च पनि धान्न नसक्ने बाटोमा अघि बढिरहेको औंल्याएका छन् ।
प्रतिनिधिसभाको वजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले संघीयताका कारण मुलुकमा आर्थिक भार बढेको र चालु राजश्वले मुलुकको खर्च धान्न सक्ने अवस्था नदेखिएको बताए । उद्योगी समेत रहेका सांसद चौधरीले संघीयताका कारण बढेको चालु खर्चका कारण मुलुक राष्ट्रले उठाएको करबाट तलब भत्ता पनि भ्याउन नसक्ने दुष्चक्रममा फस्दै गएको बताए ।
‘७५३ भन्दा बढी विभिन्न तहका सरकार, सरकारमा थपिने राष्ट्रले धान्नै नसक्ने खर्च, आर्मी र विभिन्न सुरक्षा निकायको बढ्दो माग यी सम्पूर्ण कुराहरुको समिश्रण भनेको अहिलेको सबै राजश्वले चालु खर्च भ्याउन नसक्ने स्थिति छ’ उनले थपे, ‘देश अत्यन्त डरलाग्दो दुष्चक्रममा फसेको मैले देखिरहेको छु ।’
नेपाली अर्थतन्त्रबारे टिप्पणी गर्दै चौधरीले भने, ‘रेमिट्यान्सबाट प्राप्त भएको आयलाई प्रयोग गरी आयात बढ्ने वा त्यसलाई प्रोत्साहित गर्ने, त्यो आयातमा खर्च धान्नका लागि धान्न नसक्ने गरी ट्याक्सका दरहरुमा वृद्धि गर्दै जाने र राष्ट्रलाई विश्वकै उच्च दरको राजश्व भएको मुलुकको रुपमा स्थापित गराउने ?’
रेमिट्यान्सको रकमलाई सरकारले दिगो भौतिक संरचना निमाण गर्नुपर्ने ठाउँमा सरकार उपभोक्तावादमा खर्च गर्न प्रोत्साहन गरिरहेको चौधरीले आरोप लगाए । उनले बजेटको संरचनामा आधारभूत रुपमा परिवर्तन आवश्यक रहेको औंल्याए ।
गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च २३ प्रतिशत देखिएको चौधरीले बताए । देशमा आएको ठूलो राजनीतिक परिवर्तनले पनि जनतालाई फाइदा हुन नसकेको भन्दै उनले विनियोजन गरिएको विकास खर्च गर्ने क्षमता पनि सरकारमा नदेखिएको टिप्पणी गरे ।
सरकारले हरेक वर्ष उत्पादन बढाउने योजना ल्याउन आवश्यक नभएको भन्दै उनले नेपालले फाइदा लिन सक्ने क्षेत्र खोज्न सक्नुपर्ने धारणा राखे । विश्वकै उत्पादक क्षेत्र (फ्याक्ट्री अफ दि वर्ल्ड ) मानिने भारत र चीनको बीचमा उत्पादन बढाउने योजना भन्दा पर्यटन, शिक्षा र स्वास्थ्यमा जोड दिन सकिने चौधरीले बताए ।
सरकारले पूर्वाधार विकास गर्ने हो भने पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सार्क र विमस्टेक क्षेत्रको गन्तव्य नेपाल बन्न सक्ने चौधरीले बताए । त्यसका लागि निजी क्षेत्रलाई सरकारले प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ । ‘शैक्षिक गन्तव्य बन्न सक्ने ठाउँमा सरकारले पूर्वाधार बनाएर अरु मुलुकले दिएको सुविधा भन्दा बढी सुविधा दिनुपर्छ’ उनले भने ।
भ्रमण वर्ष मनाउँदैमा नेपालमा पर्यटक नबढ्ने भन्दै उनले नयाँ पर्यटकीय गन्तव्य खोज्नुपर्ने बतँए । वर्षौदेखि पोखरा, काठमाडौं र चितवन बाहेक अर्को अन्तर्राष्ट्रिय स्केलको पर्यटकीय गन्तव्य देखिएको छैन’ उनले भने । बजेटमा एउटा मन्त्रालयले बजेट खर्च गर्न नसकेमा जुन निकायले खर्च गर्छ, उसलाई विनियोजन गर्ने संयन्त्र बनाउनुपर्ने बताए ।