कालिकाका मेयरले ढुङ्गागिट्टी दोहन नरोकेकोमा कांग्रेसको आरोप

रिपोर्ट नेपाल | 2019 Jun 01 | 08:32 am 2899

चितवन, जेठ १८: नेपाली कांग्रेस चितवन कालिका नगर कार्य समितिले एक वक्तव्य जारी गरी नगरपालिकाको नेतृत्व विकास निर्माण गरेर निकास दिनुपर्नेमा भाषण र आश्वासनमा मात्रै लागेको भन्दै नगरप्रमुख समक्ष ज्ञापन पत्र बुझाएको छ ।

नगरसभापति राजु श्रेष्ठद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा विभिन्न संचार माध्यममा सडक देखि गिट्टी बालुवाको ठेक्कामा मोलमोलाई गरेको समाचार प्रशारण प्रकाशन भएको कुरा प्रति नेपाली कांग्रेसको ध्यान आकर्षण भएको जनाएको छ ।

पाँच बुँदे ज्ञापन पत्रमा नगरका विभिन्न वडाका बासिन्दाहरुले शुद्ध खानेपानी पीउनबाट बंचित हुँदा समेत नगरपालिका मौन रहनु दुर्भाग्य भएको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा नगरशिक्षा चोर बाटो ल्याएर शिक्षा ऐन जारी गरेको भन्दै उक्त ऐन सार्वजनिक गर्न समेत माग गरिएको छ ।

राजनीतिक आग्रह पूर्वाग्रह राख्दै निजि जग्गामा वडा नेतृत्वबाट ठाडो हस्तक्षेप गरेको र त्यसबारे जानकारी गराउँदा नेतृत्व मौन रहेको आरोप लगाइएको छ । कालिका नगरका विभिन्न नदीबाट गिट्टी बालुवाको दोहन हुँदा समेत नगरप्रमुख चिर निन्द्रामा रहेको कांग्रेसको आरोप रहेको छ ।

पछिल्लो समयमा नगरभित्रका सार्वजनिक विद्यालयको सम्पत्ती चोरी हुँदा र दिन प्रति दिन हत्या, हिंसा बढेको भन्दै नगरप्रमुखको ध्यानाकर्षण गराइएको छ । ज्ञापन पत्रमा कांग्रेसले राखेको मागलाई बेवास्ता गरेमा चरणबद्ध आन्दोलन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।
(यस्तो छ कांग्रेसको ज्ञापन पत्र)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.