उपप्रधान तथा रक्षामन्त्रीद्वारा सगरमाथा हिमाल सफाई अभियान अवलोकन

रिपोर्ट नेपाल | 2019 May 27 | 08:23 pm 2080

काठमाडौं, जेठ १३: स्थानीय सरकार, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु र नेपाली सेनाको संयुक्त प्रयासमा भएको सगरमाथा हिमाल सफाई अभियान २०७६ को सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवलोकन गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाई अभियानमा जोडिन आह्वान गरे।

वातावरण र हिमाल संरक्षणमा रुची राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको कुरा बताउदै नेपालको गौरवमय इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाललगायतका संरक्षण र सम्बर्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए । मन्त्री पोखरेलले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे ।

सम्बोधनकै क्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा सुखी नेपाली समृद्ध नेपालको लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक भएको बताए । सगरमाथा हाम्रो शान, गौरव र परिचयका रुपमा रहेकोले खुम्बु पासाङ गाउँपालिकालाई प्रदेश नं १ प्रदेशको पर्यटकीय गाउँका रुपमा घोषणा गरी ५० लाख उपलब्ध गराउने घोषणा गरे ।

त्यसैगरी सम्बोधन कै क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले जनस्तरीय सहभागीता सहितका यस्ता सामुहिक प्रयासबाट पर्यावरण संरक्षण तथा सुरक्षाका राष्ट्रिय लक्ष्यहरु हासिल गर्न सकिने बताए । अन्तर्राष्ट्रिय स्तरमा समेत प्रकृति तथा पर्यावरण संरक्षणमा नेपालको महत्वपूर्ण प्रयास एवं राष्ट्रिय एकता प्रति सकारात्मक सन्देश जाने भएकोले सगरमाथा र खुम्बु क्षेत्रको सुधारका लागि आगामी दिनहरुमा हामी सबैले सामुहिक तवरमा सबै पक्षबीच चेतना अभिबृद्धि गरी सगरमाथा क्षेत्रमा सफाई अभियान गर्नु नपर्ने जनाए । यसैगरी फोहोर नै हुन नदिने अभियान तथा व्यवस्थापन तर्फ केन्द्रीत हुनु पर्ने कुरा बताए । यस अभियानले नेपाल सरकारको भिजिट नेपाल २०२० कार्यक्रमलाई समेत थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

२०७६ वैशाख १ गतेबाट शुरु भएको सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनासँग भएका हेलिकोप्टर तथा जनशक्ति प्रयोग गरी अभियानका क्रममा खुम्बु क्षेत्रमा संकलन भएको करिव ४ हजार किलोग्राम फोहोर मध्ये १ केजी फोहोर २०७६ वैशाख ५ गते Blue Waste to Value नामक संस्थालाई हस्तान्तरण गरिएको र चार जनाको शवलाई काठमाण्डौँ ल्याईएको थियो । साथै सो क्षेत्रमा संकलित बाँकी करिव ६ केजी फोहोर उचित व्यवस्थापनको लागि आगामी जेष्ठ २० गतेभित्र काठमाण्डौँ ल्याउने योजना समेत रहेको छ ।

उक्त अवलोकन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुडा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद योगेश भट्टराई, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश नं १ का सांसद हेम कुमार राई, सांसद बुद्धि कुमार राजभण्डारी, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय वासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.