काठमाडाैं, जेठ १३ : राजधानीमा आइतबार भएको विस्फोटमा परी मृत्यु भएका व्यक्तिलाई गृहमन्त्री रामबहादुर थापाले नागरिक नरहेको बताएपछि उनको अभिव्यक्तिप्रति कांग्रेस सांसदहरूले आपत्ति जनाएका छन् ।
सोमबारको संसद् बैठकमा गृहमन्त्री थापाले हिजोको विस्फोटमा परी जुन व्यक्तिको मृत्यु भएको छ, ती सोही समूहसित सम्बद्ध कार्यकर्ताहरूको मृत्यु भएको हो, उनीहरू नागरिक होइनन् भनेपछि उनको भनाइप्रति कांग्रेस सांसदले आपत्ति जनाएका हुन् ।
उनको भनाइप्रति कांग्रेस सांसद देवेन्द्रराज कँडेल र पुष्पा भुसालले संसद् बैठकमा भनेका थिए, ‘त्यसो भए विस्फोटमा ज्यान गुमाउनेहरू नेपाली नागरिक होइनन् ?’ उनीहरूको भनाइ थियो, ‘गृहमन्त्रीज्यूले नागरिकको मृत्यु भएको छैन भन्नुभो, त्यसो भए कसको मृत्यु भएको हो ?’
गृहमन्त्री रामबहादुर थापाले आइतबारको विस्फोटमा मृत्यु भएका सामान्य नागरिक नभएको बताएका थिए। सोमबार प्रतिनिधिसमा बैठकमा बोल्दै गृहमन्त्री थापाले विस्फोटमा मृत्यु, घाइते भएका सबै जसो विप्लव समूहसँग सम्बद्ध रहेको भन्दै उनले गैरकानुनी काम गर्ने सर्वसाधारण नहुने अभिव्यक्ति दिएका थिए।
‘उनीहरु सामान्य जनता होइनन्। घटना घटाउने कै ज्यान गएको छ’ थापाले भनेका थिए–‘गैरकानुनी काम गर्ने सर्वसाधारण हुन सक्दैन’। उनीहरू घटना घटाउन बम बनाउने क्रममा मारिएकाले उनीहरूलाई साधारण नागरिक भन्न नहुने उनले बताएका थिए ।