कालिकोट, जेठ १३: बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् । कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन्।
विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेकाे भन्दै भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको प्रहरीले जानकारी दिए।
जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, राजमार्ग बन्द गर्नका लागि कार्यकर्ता खटिएको बताउँदै बन्दको अवज्ञा गर्ने जोकोहीलाई पनि नछाड्ने बताए। जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माले विप्लव समूहको बन्दलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए।