अछाम, जेठ ११: जिल्लाकाे ढकारी गाउँपालिका–४ बलातामा भिषण आगलागी भएको छ ।
उक्त आगलागीबाट सात वटा घर जलेर ध्वस्त भएका छन् भने ठूलाे संख्यामा पशु चौपाया जलेर नष्ट भएका छन् । शुक्रबार साँझ करिब सात बजेतिर लागेको आगोबाट सात घर र गोठमा रहेका गाइ, बाख्रा, भैसी सबै चाैपाया जलेको स्थानीयले जानकारी दिएका छन् ।
आगो मीन बुढाको घरबाट सुरु भएकाे स्थानीय प्रेम बुढाले जानकारी दिए । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री, अन्नपात लुगाकपडा केही पनि जाेगाउन नसकिएकाे बताए छन् । त्यहाँका प्रत्येकको गोठमा कम्तिमा पनि २०–२५ बाख्रा र गाई गोरु रहेकाले जलेका पशु चौपायाको संख्या सयाैं हुन सक्ने बुढाले बताए ।
स्थानीयले गरेका अनुमानमा मीनको घर नजिक बारीमा झारपात जलाउन बालेको आगो घरमा सल्किएको हुन सक्ने बताएका छन् । मीन बुढाको घरबाट नजिकै रहेको वडा अध्यक्ष भक्त बुढाको घर हुँदै रुदा बुढा, जोगी बुढा, इन्द्र बुढालगायतको घरमा सल्किएको बताए ।