मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने मन्त्री बास्कोटाकाे अडान

| 2019 May 24 | 06:28 am 1961

काठमाडाैं, जेठ १०: सघीय संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक फिर्ता नहुने अडान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कायमै राखेका छन् । बिहीबार उक्त विधेयकका केही प्रावधान तत्काल हटाउन माग गर्दै सत्तारुढ नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालले ज्ञापन पत्र बुझाएपछि उनले संचारकर्मीलाई  विधेयक फिर्ता नहुने बताएकाे हाे।

मन्त्री बास्कोटाले प्रेसलाई संकुचित बनाउने कुनै मनसाय नरहेको पनि स्पष्ट पारे । मन्त्री बास्कोटाले संविधानले बर्जित गरेका विषयमा लेख्ने काम गरे मात्रै दण्ड जरिवानाको व्यवस्था गर्ने गरी  विधेयक ल्याइएको उनको दाबी छ । मन्त्री बास्कोटाले संसद हरेक विधेयकको छलफल गर्ने सबैभन्दा ठूलो निकाय भएकाले त्यसमा व्यापक छलफल गरेर उक्त विधेयकलाई टुंगोमा पुर्याउने योजना समेत अघि सारेका छन् ।

प्रेस संगठन नेपालले भने दर्ता भएकाे विधेयकमा पत्रकारहरुलाई दण्ड सजाय गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो । प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले  विधेयकको बुँदा नम्बर १८ मा रहेको ‘२५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ र ‘क्षतिपूर्ति भराउने सम्बन्धि व्यवस्था’ हटाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको स्पष्ट पारे । संगठनले मिडिया काउन्सिललाई सरकार नियन्त्रित नभई स्वायत्त निकायको रुपमा स्थापित गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.