काठमाडौं, जेठ ८: महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट मेडिकल जाँच गराउन लगेका बलात्कारका अरोपी भागेपछि तनाबमा रहेको प्रहरीले उनी पक्राउ परेपछि राहतको महसुस गरेको छ ।
बालिका बलात्कारका आरोपी पदम श्रेष्ठ पक्राउ परेका हुन्। उनले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि मेडिकल जाँच गर्न जाँदा वीर अस्पतालबाटै फरार भएका थिए।
हिरासतबाटै फरार भएका उनको खोजी प्रहरीले तिव्र पारेको थियो। उनलाई प्रहरीले बुधबार काठमाडौंको गोंगबु बसपार्क नजिकैको हिले टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोट घर भई काठमाडौँको नयाँ बसपार्कमा बस्ने श्रेष्ठलाई मेडिकल जाँच गर्न वीर अस्पताल ल्याउँदै गर्दा उनी हतकडी फुस्काएर मंगलबार राती फरार भएका थिए । मेडिकल जाँच गराउन लगेका लापरबाही गर्ने प्रहरीलाई कारबाही गर्ने तयारी भएको बुझिएको छ ।