काठमाडौं, जेठ ५ : ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैङ्क नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी छन् । मेगा बैङ्कमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिवगत जमदार घिमिरेलाई मेगा बैङ्कले सोही खाताको बिमा बापत पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ – १०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
मेगा बैंकबाट रकम बुझेपछि स्वर्गीय घिमिरेकी पत्नी शिलुले ग्राहक वर्गको सुरक्षाका साथै अभिभावकत्व ग्रहण गरिदिएको भन्दै मेगा बैंकलाई धन्यवाद दिएकी छन् ।
न्यूनतम एक सय रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्मचारी बचत खाता’मा बैङ्कले हरेक खातावालाको ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।