गोरखा, जेठ ५: जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ का वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । यदि कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिवाना तिर्नु पर्ने भएको छ ।
वडाले बनाएको नियम अनुसार वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुने निर्णय गरेको छ । चुमनुब्री गाउँपालिका ४ का वडा अध्यक्ष पेमा डुन्डुप लामाले दिएको जानकारी अनुसार कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएको १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको बताए। यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले जनाए ।
जरिवाननावापत संकलन गरिएको रकम समाजमा हुने विकृति विसंगति विरुद्धको अभियानमै खर्च गरिने वडा अध्यक्ष लामाले बताए।
यसका साथै हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको जनाए । हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेचसमेत नहुने बताए ।