दोस्रो सिओएयस उच्च अक्षांश त्रि-साहसिक प्रतियोगिता २०७६ सम्पन्न

रिपोर्ट नेपाल | 2019 May 13 | 07:06 pm 2109

काठमाडौं, वैशाख ३०: नेपाली सेनाद्वारा दोस्रो पटक आयोजित राष्ट्रिय स्तरको  दोस्रो सिओएयस उच्च अक्षांश त्रि-साहसिक प्रतियोगिता २०७६ को मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयमा बलाधिकृत रथी शरद कुमार गिरीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भएको छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमलगायत २० टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ क्लाईम्विङ्ग १ सय मिटर, रनिङ्ग ४.७५ कि.मि. र साईक्लिङ्ग १५.३५ कि.मि.गरी जम्मा २०.२ किमि.को निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘ए’ ले १ घण्टा १९ मिनेट ४२ सेकेण्डमा पुरा गरी प्रथम, सशस्त्र प्रहरी बलले १ घण्टा १९ मिनेट ५२ सेकेण्डमा पुरा गरी द्वितिय र त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ ले १ घण्टा २४ मिनेट १९ सेकेण्डमा पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भएका थिए भने महिलातर्फ सशस्त्र प्रहरी बलको टिमले १ घण्टा ४५ मिनेट ५४ सेकेण्डमा पुरा गरी प्रथम, हिमालयन गोर्टस टिमले १ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पुरा गरी द्वितिय र त्रिभुवन आर्मी क्लबको टिमले १ घण्टा ५३ मिनेट १६ सेकेण्डमा पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरुष तर्फका टिमलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार महिला तर्फका टिमलाई क्रमशः नगद पुरस्कार १५ हजार, १० हजार र ५ हजारसहित ट्रफि, पदक तथा प्रमाण पत्रलगायत सहभागी प्रतिस्पर्धि टिमहरुलाई समेत प्रमाण पत्र क्रमशः श्री पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी काजी बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख क्षिरिङ्ग ल्यामू गुरुङ्ग, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी शशि बहादुर सिंह, प्रदेश सभासद् महेन्द्र थकाली, सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयका महानिर्देशक उपरथी प्रभुराम शर्मा र बलाधिकृत रथी गिरीबाट प्रदान गरिएको थियो ।

सोही क्रममा बलाधिकृत रथी गिरीले यस प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने विभिन्न सरकारी तथा गैर सरकारी संस्था, स्थानीय जनप्रतिनिधि, समाजसेवी एवं सञ्चारकर्मीहरुलाई प्रशंसा पत्रसमेत वितरण गरेका थिए ।

यस किसिमको प्रतियोगिताले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

पहिलाे सिओएयस उच्च अक्षांश त्रि-साहसिक प्रतियोगिता २०७५ मा त्रिभुवन आर्मी क्लबको टिम बी प्रथम, त्रिभुवन आर्मी क्लब कै टिम ए द्वितिय र सशस्त्र प्रहरी बलको टिम ए  तृतिय भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.