काठमाडौं, वैशाख २९: गत वैशाख २६ गते भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो ।
उद्धार गरी ल्याएका मध्ये झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार बिहान काठमाडौँ ल्याइएको छ । उनीहरु सिन्धुपाल्चोक, सुर्खेत र बाँके जिल्लाका रहेका छन् ।
काठमाडौं ल्याइएका महिलालाई आइतबार परिवारको जिम्मा लगाइने माइती नेपालले जनाएको छ । उनीहरु वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेकाे अवस्थामा भारतको मिजोरमबाट उद्धार गरिएका हुन् ।