प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो

| 2019 May 11 | 07:54 am 1471

काठमाडाैं, बैशाख २८ : सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइएका छन् । सभामुख कृष्णबहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले २४ वैशाखको बैठकमा विपक्षीहरूलाई जवाफ दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्छरा’ शब्द प्रयोग गरेका थिए जसको कांग्रेसले चर्को प्रतिवाद गरेको थियो ।

बैठकको सुरुमै सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन प्रयोग भएका शब्दबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । लगत्तै सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले विपक्षी सांसदहरूबाट पनि त्यस्ता शब्द प्रयोग भएकाले अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख महराले विपक्षी सांसदहरूले बोलेका अमर्यादित शब्द पनि हटाउन निर्देशन दिए ।

नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु,’ भनेपछि संसद्मा हंगामा भएको थियो । कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबाट संसद्को मानमर्दन भएको भन्दै ती शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख महराले तत्काल निर्णय नसुनाएपछि उनीहरूले ‘प्रधानमन्त्रीको इसारामा चलेको’ भन्दै सभामुखको पनि आलोचना गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.