जनकपुर, वैशाख २६ : आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा एक युवक परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले शहिदनगर नगरपालिका–१ चिरैयाका २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको हो ।
गोइतसँगै उनकी भाउजू पनि पक्राउ परेकी छिन् । देवरलाई हत्या गराउन उक्साएको आरोपमा उनकी भाउजू श्यामा देवी पक्राउ परेकी हुन् । बिहीबार पत्रकार सम्मेलन गरी देवार भाउजू-दुवैलाई जिल्ल प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । गोइतले गत वैशाख ५ गते उनकी श्रीमती निर्मला यादवको जिउमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
एसपी खनालकाे अनुसार मुकेशले आफ्नै श्रीमतीकाे कपडा मात्रै जलाउन खाेजेका थिए तर उनकी भाउजू श्यामा देवीले मान्छे पनि जलाउन उक्साए पछि मुकेशले आफ्नै श्रीमतीलाई आगाे लगाएकाे थियाे । एसपी खनालले भने,‘मुकेशले आफ्नी श्रीमतीको लुगामात्र जलाउन खोजेको थियो तर उनको भाउजूले लुगामात्र किन, मान्छे नै जलाई देऊ भनेर उक्साएको देखिन्छ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मुकेश र उनकी भाउजू श्यामाबीच प्रेम सम्बन्ध खुलेकाे हाे । उनीहरुबीचको प्रेम सम्बन्धबारे निर्मलाले थाहा पाएपछि मुकेशसँग झगडा हुने गरेकाे पनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक खनालका बताए । भाउजू श्यामाकै पसलबाट पेट्रोल ल्याएर मुकेशले श्रीमतीको जिउमा आगो लगाएकाे पनि एसपी खनालले बताए ।
निर्मलाको उपचारका क्रममा काठमाडौंस्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममा बैशाख १६ गते मृत्यु भएको थियो । उनीहरुकाे विवाह भएकाे १० महिना मात्रै भएकाे थियाे । उक्त घटनापछि फरार रहेका मुकेशलाई बुधवार कञ्चनपुर जिल्लाको गड्डाचौकी नजिकबाट पक्राउ गरिएको थियो ।